site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनमा फुटबल पूर्वपदाधिकारीलाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय

बेइजिङ । चीनको एक अदालतले सोमबार देशको फुटबल संघका एक उच्च पूर्वपदाधिकारीलाई घुस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ ।

चिनियाँ फुटबल संघ (सीएफए)का पूर्वउपाध्यक्ष ली युयीलाई हुबेई प्रान्तको जिङझोउस्थित एक अदालतले दोषी ठहर गरेको हो ।

उनलाई एक लाख ४० हजार अमेरिकी डलर जरिवानासमेत गरिएको छ भने भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने अदालतले जनाएको छ ।

सन् २००४ देखि २०२१ को बीचमा १७ लाख अमेरिकी डलर बराबरको रकम र उपहार जम्मा गर्न सीएफएमा आफ्नो ओहदाको दुरुपयोग गरेको अभियोगमा ली मार्चमा दोषी ठहर भएका थिए ।

लीले सन् २०१५ देखि २०१९ सम्म सीएफएको उपाध्यक्षको रूपमा काम गरेका थिए । त्यसअघि उनी सांघाईको खेलकुद प्रशासनको प्रमुख थिए ।

राष्ट्रपति सी चिनफिङको शासनकालमा अधिकारीहरूले चीनको खेलकुद उद्योग, विशेष गरी फुटबलमा हुने भ्रष्टाचारविरुद्ध कडा कदम चालेका छन् ।

सीले आफ्नो देशले विश्वकप आयोजना गर्ने र जित्ने सपना देखेका र खेलजगत्लाई सुधार गर्न त्यहाँ हुने अनियमितताको अन्त्य गर्न चाहन्छन् ।

तर त्यो महत्त्वाकांक्षा पटक–पटकका भ्रष्टाचारका काण्ड र वर्षौंदेखिको निराशाजनक नतिजापछि पहिलेभन्दा अझ टाढा देखिन्छ ।

गत मार्चमा सीएफएका पूर्वप्रमुख चेन सुयुआनलाई एक करोड १० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।

सोही महिना चीनको राष्ट्रिय टोलीका पूर्वमुख्य प्रशिक्षक तथा एभर्टनका पूर्व मिडफिल्डर ली टाईले एक करोड ७० हजार अमेरिकी डलरभन्दा बढी घुस लिएको र म्याच फिक्स गर्न मद्दत गरेको आरोप स्वीकारेका थिए ।  

गत मे महिनामा चीनको सरकारी प्रसारक सीसीटीभीले ‘जनरल एडमिनिस्ट्रेसन अफ स्पोर्ट अफ चाइना’का पूर्व निर्देशक गौ झोङवेनमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको जनाएको थियो । यसरी हेर्दा, हालैका महिनाहरूमा सीएफएका करिब १० उच्च अधिकारीहरू अनुसन्धानको दायरामा आएका छन् । रासस/एएफपी

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro