site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वैदेशिक रोजगारीमा जान काठमाडौं आउन नपर्ने, गौतमबुद्ध र पोखरा विमानस्थलबाट सबै सेवा
फाइल तस्बिर ।

काठमाडौं । वैदेशिक रोजगारीमा जानको लागि अब काठमाडौं नै आउनुपर्ने झन्झट हटेको छ । 

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जानेलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट उपलब्ध गराउने निर्णय गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मंगलबार सरोकारवाला संघसंस्था र कार्यालयहरूका प्रतिनिधिहरूसहित बसेको बैठकले उक्त निर्णय गरेको हो । 

“गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट नै उपलब्ध गराउने,” मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ । 

वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूले स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बिमा, श्रम स्वीकृति र भिषासँग सम्बन्धित कामका लागि काठमाडौं आउनु पर्ने अवस्थाको अन्त्य गर्नका लागि यस्तो निर्णय गरिएको मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी कविराज उप्रेतीले बताएका छन् । 

हाल प्रदान गरी रहेको सेवा र सम्पादन गरी रहेका कामहरू भैरहवा र पोखराबाट गर्ने गरी आवश्यक व्यवस्था सबै संघसंस्थाहरूले मिलाउने निर्णय बैठकले गरेको छ ।

“सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने सेवाहरूको सम्बन्धमा सम्बन्धित कार्यालयहरूले व्यवस्था मिलाउने,” निर्णयमा भनिएको छ, “श्रम स्वीकृति लगायतका सेवालाई सरल र सहज बनाउन वैदेशिक रोजगार विभागले आवश्यक व्यवस्था मिलाउने ।” 

भिसा सेन्टरको स्थापनाको लागि परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने समेत जनाइएको छ । ऐन, नियम, कार्यविधिमा केही संशोधन वा निर्णय गर्नुपर्ने भएमा मन्त्रालयले अध्ययन गरी निर्णय गर्ने प्रकाशित सूचनामा उल्लेख छ । 

श्रम मन्त्रालयअन्तर्गतका सेवाहरूलाई क्रमशः प्रदेशस्तरमा लैजान आवश्यक तयारी मिलाउने समेत निर्णय भएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro