site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कार्यसम्पादन मूल्यांकनमा १७ स्थान तल खस्कियो मोरङ प्रशासन

विराटनगर । मोरङ जिल्ला प्रशासन कार्यालय कार्यसम्पादन मूल्यांकनमा झन् कमजोर देखिएको छ । हरेक वर्ष जिल्ला प्रशासन कार्यालयहरूले संघीय गृहमन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्छन् । ७७ जिल्लामध्ये मोरङ गृहमन्त्रालयको जिल्ला श्रेणी तालिकामा ३९ औं नम्बरमा परेको छ । अघिल्लो वर्ष मोरङ २२ नम्बरमा थियो । यो पटक १७ स्थान तल झरेको हो ।
 
गृहले प्रशासन कार्यालयहरूले गरेको कामको आधारमा विभिन्न शीर्षकमा अंक दिन्छ । मोरङले ९२.७५ अंक प्राप्त गरेको छ । गृहद्वारा प्रकासित कार्यसम्पादन मूल्यांक प्रतिवेदनअनुसार सबैभन्दा पुछारमा धनुषा परेको छ । धनुषाले १०० मा ७६.२५ अंक मात्र प्राप्त गरेको छ । पहिलो नम्बरमा रुपन्देही छ । उसले कुल ९८ अंक प्राप्त गरेको छ ।

पछिल्लो समय मोरङमा सुशासन कमजोर बनेको, सीमापार तस्करी बढेको, सुरक्षा निकायबीचकै विवादका कारण समन्वयात्मक ढंगले काम हुन नसकेको जनस्तरमा गुनासो छ । केही समय अघिमात्र तस्करीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला प्रशासन कार्यालयबीचको विवाद सतहमा आएको थियो । एकले अर्को तस्करी र अनियमित तवरले रकम आर्जनमा लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी परेको थियो ।

Morang-1723009966.jpg

 
विवाद बढेसँगै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जिल्ला सुरक्षा समितिको बैठक डाकेर छलफल गरेका थिए । प्रमुख जिल्ला अधिकारी भट्टराइले कार्यसम्पादन मूल्यांकनको तय गरिएका ‘इन्डिकेटर’हरू हुने गरेको बताए । “त्यसमा के कति काम भयो त्यसकै आधारमा मूल्यांक हुने हो,” भट्टराईले भने ।  

गृह मन्त्रालयको निर्देशन विपरीत मिटरब्याज (अनुचित लेनदेन)का उजुरी ६ महिनासम्म ‘फरवार्ड’ नगरी राखेको र फर्छ्यौटमा विलम्ब गरेको आरोप प्रजिअ भट्टराई माथि लागेको थियो । 

संघीय मन्त्रिपरिषद्को निर्णयका आधारमा गृहले मिटरब्याज सम्बन्धी विचाराधीन उजुरीलाई फर्छ्यौट गर्न सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाउन २०८० माघ ८ गते सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो । तर, मोरङमा परिपत्रको अवज्ञा गर्दै त्यस्ता उजुरी जिल्ला प्रहरी कार्यालयको अनुसन्धान डेस्कमा यो हप्तामात्र पठाइएको छ । मोरङमा मिटरब्याज सम्बन्धी पाँच सय मुद्दा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जिल्ला प्रशासन कार्यालयबाट ढिलो गरी प्राप्त भएका मिसिल छलफल र थप अनुसन्धानका लागि सम्बन्धित इलाका प्रहरी कार्यालयहरूमा पठाउने तयारी गरिएको जानकारी दिए । उनले भने, “छलफलबाट मिल्ने विषयहरू तल नमिले मुद्दा अघि बढाउने तयारी गरेका छौँ ।”

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro