site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
टेकु अस्पतालमा कुकुरको टोकाइका बिरामीको चाप, सबै टोकाइमा खोप लगाउनैपर्छ ?

काठमाडौं । चार महिनाअघि ललिपुरका एक २२ वर्षीय युवक रेबिजको लक्षणसहित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे । कुकुरले टोकेपछि आफूले तीन महिनाअघि स्थानीय क्लिनिकमा गएर खोप लगाएको ती युवकले बताए ।

तर, शरीरमा रेबिज संक्रमण फैलिसकेकाले उनको अस्पताल ल्याएको केही दिनमै मृत्यु भयो ।

उपचारका संलग्न चिकित्सकका अनुसार उनलाई क्लिनिकले तीन डोज दिनुपर्ने रेबिजविरुद्धको खोप एक डोजमात्रै दिएको थियो । ती युवकले उपचारको क्रममा चिकित्सकसँग भनेका थिए– 'क्लिनिकले एक डोज लगाए पुग्छ भन्यो ।'

कतिपय क्लिनिकले मात्रा र सेड्युल नमिलाएर रेबिजको खोप जथाभाबी दिँदा बिरामी मृत्युको मुखमा अस्पताल आइपुग्ने चिकित्सकहरूको अनुभव छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ओपीडी इन्चार्ज शंकर पाण्डे बिरामीलाई पनि कस्तो अवस्थामा र कति मात्रा खोप लगाउने भन्ने ज्ञान नहुँदा रेबिज अझै समस्या बनिरहेको बताउँछन् । कतिपयले सानोतिनो टोकाइ ठानेर खोप नै नलगाउँदा पनि रेबिज चुनौती बनिरहेको उनको अनुभव छ ।

ग्लोबल अलायन्स फर रेबिज कन्ट्रोलको तथ्यांक अनुसार नेपालमा वार्षिक ९० देखि १०० जनाको रेबिज संक्रमणबाट मृत्यु हुन्छ । शुक्रराज अस्पतालमा दैनिक ५०० देखि ६०० जनालाई एआरभी एन्टिरेबिज भ्याक्सिन दिइन्छ ।

छालामा तीनपटक लगाइने खोप मासिक १० हजारदेखि १३ हजार डोज खपत हुने गरेको अस्पतालको तथ्यांक छ । 

०८० साउनयता जेठसम्म एक लाख २९ हजार डोज खोप लगाइएको छ । खोप लगाउनेमध्ये झन्डै ६ हजार नयाँ बिरामी हुन्छन् ।

अस्पताल आउनेमध्ये ९५ प्रतिशतमा कुकुरको टोकाइ ह्न्छ । बाँकी पाँच प्रतिशतलाई स्याल, बिरालो, बाघ, बाँदर, भालु आदिले टोकेर खोप लगाउन आइपुग्छन् । कतिपयले कुकुरबाहेक अन्य जनावरको टोकाइलाई बेवास्ता गर्दा पनि रेबिज निम्तिने गरेको छ ।

सबै टोकाइमा खोप लगाउनैपर्छ ? 

जनावरको टोकाइ भएमा जस्तोसुकै अवस्थामा पनि खोप लगाउनुपर्छ । कुकुरको टोकाइबाट र्‍याल मानिसको शरीरमा प्रवेश गरे, तत्काल खोप लगाइहाल्नुपर्छ । रेबिज भाइरस मानिसको शरीर हुँदै मस्तिष्कसम्म पुगेमा व्यक्तिमा संक्रमण देखिन्छ ।

रेबिजको खोप नलगाएका सामुदायिक कुकुरहरूको टोकाइ झनै घातक हुन्छ । यस्ता कुकुरले टोकेर खोप नलगाएमा १० दिनदेखि १० वर्षसम्म पनि रेबिज देखिन सक्ने जोखिम हुन्छ ।

“रेबिज यस्तो संक्रमण हो, जुन खोप नलगाए ज्यान जान्छ नै,” इन्चार्ज पाण्डे भन्छन् ।

खोप नलगाएका कुकुर वा अन्य जनावरको टोकाइ भए तीन डोज खोपसँगै इम्युनोग्लोबिनसमेत लगाउनुपर्ने हुन्छ ।

जनावरले टोकिहाले प्राथमिक उपचार के गर्ने ?

घरपालुवा कुकुरलाई मानिसलाई जस्तै स्याहार र स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । सामुदायिक कुकुरलाई समेत जिस्क्याउने, नजिकै गएर चलाउनेजस्ता बानीले उनीहरूलाई आक्रामक बनाएर टोक्न आइपुग्छन् ।

घरपालुवा कुकुरलाई जातअनुसार उनीहरूको स्याहार र स्वास्थ्यमा ध्यान दिनुपर्छ । पशु चिकित्सक डा. भुवन गिरी भन्छन्, “सामान्यत ४५ दिनदेखि एक वर्षसम्मको कुकुरलाई विभिन्न रोगविरुद्धको खोप सात पटकसम्म दिनुपर्छ ।” 

उनका अनुसार कुकुरलाई नियमित जुकाको औषधि र मौसम परिवर्तन हुनासाथ उनीहरूको स्वास्थ्य परीक्षण गर्नुपर्छ । त्यस्तै, सरसफाइमा ध्यान दिने, छालाको विभिन्न समस्याबाट जोगाउनुपर्छ ।

यदि कुकुर वा अन्य जनावरले टोकिहाले घाउलाई १५ मिनेटसम्म बगेको पानीमा थापेर धुनुपर्छ । साबुन पानीले घाउलाई राम्ररी सफा गरेर खुला छोडिनिदुपर्छ । 

घाउमा बाँध्ने, निचोर्नेजस्ता काम गर्नु हुँदैन । सकेसम्म छिटो एआरभी लगाउन जानुपर्छ । सरकारले एआरभी प्राथमिक स्वास्थ्य केन्द्रदेखि सरकारी अस्पतालहरूसम्म निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro