site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
किन बनाए तस्करीमा जोडिएका अधिकांश चिनियाँले नेपाली नागरिकता ?

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ६० किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ ।

संगठित अपराधमा ६० दिनसम्म थुनामा राखी सीआईबीले अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ ।  कानुनी सीमाका कारण अनुसन्धान तीव्र पारिएको र अन्तिम चरणमा पुगेको सीआईबीका प्रमुख एआईजी श्याम ज्ञवालीले जानकारी दिए । 
प्रहरीले ५० दिनअघि आशंकितहरू पक्राउ गरी अनुसन्धान थालेको थियो । “हामी अन्तिम चरणमा पुगेका छौैँ । अर्को साता अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेका छौं,” एआईजी ज्ञवालीले भने । 

सुन तस्करी र तस्करीको सुनवापतको रकम व्यवस्थापन गर्ने समूहसहित २० जनालाई सीआईबीले पक्रेको छ । 

पछिल्लो समय सीआईबीले एकजना चिनियाँसहित दुईजना नेपालीलाई पक्राउ गरेको छ । असार २ मा चिनियाँ नागरिक ३७ वर्षीय शेरब ग्याल्मो र नेपाली नागरिकहरू भक्तपुरका मनोज श्रेष्ठ र रुपक भण्डारीलाई पक्राउ गरेको हो । 

चिनियाँ नागरिक ग्याल्मोसँग जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट सोनाम गुरुङको नागरिकता समेत लिएको भेटिएको छ । 

उनलाई प्रहरीले बौद्धबाट थप ६ किलो सुन र ४८ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको थियो । त्यस्तै दुई नेपाली नागरिक श्रेष्ठ र भण्डारीलाई भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको हो ।  सरकारद्वारा गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले दोस्रो चरणको अनुसन्धान थालेको थियो ।

गतवर्ष साउन २ गते सवारी साधनको ‘ब्रेक सु’मार्फत हङकङ हुँदै नेपाल भित्र्याइएको ६० किलो सुन भन्सार पार गरेर बाहिरिँदै गर्दा सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो ।

पछि उक्त घटनाको अनुसन्धान गर्ने जिम्मेवारी सीआईबीले पाएको हो । पहिलो चरणको अनुसन्धान सकाएको सीआईबीले २९ जनालाई प्रतिवादी बनाएको थियो ।  अनुसन्धानका क्रममा सीआईबीले सोही समूहले रेडी ट्रेडसहित अरू अनेक ‘डमी’ कम्पनी खडा गरी ३६० किलोभन्दा बढी सुन तस्करी गरेको तथ्य खुलाएको थियो ।

पहिलो चरणमा पक्राउ परेकामाथि तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गरिएको थियो । 

पक्राउ गरिएकामा नौ चिनियाँ र २० नेपाली थिए । हाल उनीहरू पुर्पक्षका निम्ति जेल चलान गरिएको छ । तर, सीआईबीले पहिलो चरणको अनुसन्धानका क्रममा त्रुटि गरेको भन्दै जाँचबुझ आयोग गठन गरिएको थियो । 

पूर्वन्यायाधीश डिल्लीप्रसाद आचार्य नेतृत्वको आयोगको छानबिनको प्रतिवेदन गत चैत १ मा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो ।

उक्त प्रतिवेदनमा पहिलो चरणको अनुसन्धानमा त्रुटि गरेको औँल्याइएको थियो ।  त्यही अनुसन्धानमा संलग्न सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यसहितको टोलीलाई त्यहाँबाट सरुवा गरिएको थियो ।

हाल दोस्रो चरणको अनुसन्धान एआईजी श्यामलाल ज्ञवालीको नेतृत्वको टोली अनुसन्धान थालेको छ ।

चिनियाँ नागरिकले कसरी बनाए नेपाली नागरिकता ?

६० किलो सुन तस्करी प्रकरणको सीआईबीको अनुसन्धानले सुन तस्करीको पर्दा मात्रै खोलेन ।  सुन तस्करी गर्ने चिनियाँ गिरोहले नेपाली नागरिकतासमेत कसरी दुरुपयोग गर्ने रहेछन् भन्ने नयाँ तथ्य खुलाएको छ ।

सुन तस्करी प्रकरणमा जोगिएका अधिकांश चिनियाँ नागरिकबाट सीआईबीले नेपाली नागरिता फेला परेपछि उक्त तथ्य खुलेको हो ।  सीआईबीले पक्राउ गरेको पहिलो चरणको अनुसन्धानका क्रममा पक्राउ परेका नौ जना चिनियाँ नागरिकमध्ये ४ जनाबाट नेपाली नागरिकता फेला पारेको थियो ।

त्यतिबेला सीआईबीले चिनियाँ नागरिक लि नाङकल, यहो पुचिङ, ह्याङ्ग यतुना र बेल्जियम नागरिक दावा छिरिङको साथबाट नेपाली नागरिकता बरामद भएको थियो । 

उनीहरूले जिल्ला प्रशासन कार्यालय काभ्रे र काठमाडौंबाट नागरिकता लिएको खुलेको थियो । उनीहरूले लाखौँ रकम खर्च गरेर कर्मचारीलाई प्रभावमा पारेर नागरिकता लिएको खुलेको हो ।  नागरिकता जस्तो संवेदनशील कागजातसमेत उनीहरूले प्रभावमा बनाएका हुन् । त्यो क्रम अझै रोकिएको छैन ।

गत २ असारमा पक्राउ परेका शेरब ग्याल्माबाटसमेत नेपाली नागरिकता फेला पर्नु गम्भीर सीआईबीका प्रमुख एआईजी ज्ञवालीको भनाइ छ ।  प्रहरीका अनुसार, नेपाली नागरिकता लिएर नेपालमै बसेर पनि अवैध धन्दा चलाउन र मुख्यतः नेपाल हुँदै भारत प्रवेश गर्ने उद्देश्यले चिनियाँ नागरिकले ठूलो रकम खर्च गरेर नागरिकता लिएको खुलेको छ ।

चिनियाँ तस्करीको सुनको प्रमुख बजारसमेत भारत रहेको प्रहरीको भनाइ छ । चिनियाँ नागरिकलाई भारत प्रवेशमा कडाइ छ । सीआईबीले हाल भारतका सिद्धनाथ अशोक गायकवाड, धिरज दिनेश वैटे, प्रशान्त गणेश वजवलकार, बैजनाथ ब्रम्हादत्त गोयल, चिनियाँ नागरिक शेरब ग्याल्मा, राजु भोटेलाई पक्राउ गरेको छ ।

त्यस्तै नेपालीमा राजु खत्री, सुरेन्द्रमान श्रेष्ठ, प्रेमनाथ सेढाइ, कान्छा लामा, भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज शमशेर जबरा छन् । 

यसरी अथुप्छाङ खम्पा, सुशील ज्याकिबन्जा, कश्यप मानन्धर पनि सीआईबीको हिरासतमा छन् । यसरी नै लालबहादुर कुँवर, अरुणकुमार यादव, रूपक भण्डारी र मनोज श्रेष्ठसमेतमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro