site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुखमा जलाइएको अवस्थामा फेला परेका विष्णुप्रसादको हत्या अनुसन्धानमा खटियो सीआईबी 

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–४, जिरो किलो नजिकको वनको एक रुखमा एकजना पुरुषको शव जलाइको अवस्थामा फेला पर्‍यो । २८ वैशाखमा घाँस दाउरा गर्न वन पुगेका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि प्रहरीले शरीरको बाहिरी भाग पूर्णरूपमा जलेको शव फेला परेको हो । उनको घाँटी र खुट्टामा फलामको तारले रुखमा बाँधेको भेटिएको थियो ।

पाँच दिनसम्म प्रहरीले शवको पहिचान समेत गर्न सकेको थिएन । सोमबार भने उनको शव पहिचान भएको छ । उक्त शव दोलखा भिमेश्वर नगरपालिका–२, राम्पाका विष्णुप्रसाद सुवेदीको भएको खुलेको काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय सुवेदी ललितपुरको टीकाथली बस्दै आएको खुलेको छ । उनी २३ वैशाखदेखि ललितपुर घरबाट बाहिर निस्केको र घर फर्किएका थिएनन् । उनको हत्या भएको निष्कर्षमा पुगेको प्रहरीले उनी जीवितै जलाइएका हुन् वा हत्यापछि जलाइयो भन्नेबारे भने अझै खुलाउन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ ।

मृतक सुवेदीले बोक्ने मोबाइल भने घरमै छाडेको खुलेको छ । प्रहरीले घटनास्थल नजिकको टावरसँग कनेन्सन भएका मोबाइलको बीटीएस अध्ययन गरिरहेको छ । शंकास्पद मोबाइल नम्बर संकलन गरेर प्रहरीले सोधपुछ थालिसकेको छ । दुई छोरा र एक छोरी रहेका सुवेदी व्यवसायी हुन् ।

श्रीमती, छोरीसहित टीकाथली बस्दै आएका उनी वैशाख २३ मा दोलखा जाने भन्दै घरबाट निस्केको खुलेको छ । उनको दोलखा चरिकोटमै मेसिनको पार्टपुर्जाको पसल समेत छ ।

सुवेदीको हत्या दर्दनाक र जटिल देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले समेत अनुसन्धान थालेको छ । गएको चैत ३० मा बुद्धचित्तको रुख काटेको घटनामा अनुसन्धान गर्न काभ्रे पुगेको सीआईबीका प्रहरी निरीक्षक सुनिल धोजुँकै टोलीले सुवेदीको हत्या अनुसन्धान थालेको हो ।

सीआईबीको टोलीले प्राविधिक रूपमा अनुसन्धानमा सघाइरहेको काभ्रेका डीएसपी राजुकमार श्रेष्ठले जानकारी दिए । सीआईबीको जघन्य अपराध अनुसन्धान पिलरमा कार्यरत सुनिल गएको चैत १९ मा पर्वतको जलजला गाउँपालिका–२, स्थित ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको हत्याको घटना अनुसन्धान गर्न पर्वत पुगेका थिए ।

उनकै टोलीले करिब एक महिना पछि वैशाख १८ मा हत्यामा संलग्न म्याग्दीका कृष्ण विक र दीपक परियारलाई पक्राउ गर्न सफल भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro