site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
प्रतीकात्मक तस्बिर ।

सिरहा । बालिकाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१९, जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ । स्थानीय रमेशकुमार यादवकी करिब तीन वर्षीया छोरी रियाकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी ४७ वर्षीया सोनादेवी यादव र उनकी छोरी पूजाकुमारीलाई वैशाख १४ गते घरबाट पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाका अनुसार, आमाछोरीविरुद्ध ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा सिरहा जिल्ला अदालतबाट वैशाख १५ गतेदेखि लागु हुने गरी पहिलोपटक सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ ।

वैशाख १२ गते बिहानदेखि हराएकी बालिका खोजी गर्दा फेला नपरेपछि प्रहरीमा उजुरी दिइएको थियो । प्रहरीसहित स्थानीयले खोजतलास गर्ने क्रममा तीन दिनपछि वैशाख १४ गते राति करिब साढे ११ बजेतिर छिमेकी धनिकलाल यादवको घरको छतमा जाने मसुरोको झ्याङ्टाभित्र बालिकाको शव कालो बोरामा लुकाइएको अवस्थामा भेटिएको थियो ।

पछिल्लो एक वर्षदेखि परिवारिक झै–झगडाको रिसइबी साँध्न धनिकलाल यादवको घरआँगनमा खेल्दै पुगेकी बालिकालाई पसलबाट किनेर ल्याएको बिस्कुट खुवाएर फकाउँदै घरभित्र पुर्‍याएर आमाछोरीले घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाको तीन दिनपछि बालिका हत्या आरोपमा आमाछोरी पक्राउ परेका हुन् । आरोपित सोनादेवीका श्रीमान् धनिकलाल फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसै घटनाको अघिल्लो दिन सखुवानन्कारकट्टी गाउँपालिका–५ की करिब ३४ वर्षीया सरिताकुमारी साहविरुद्ध प्रहरीले आफ्नै छोराको हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको थियो । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro