site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरीको एपबाट अपराधबारे जानकारी लिन सकिने

काठमाडौं । नेपाल प्रहरीले प्रयोगमा ल्याएको ‘नेपाल प्रहरी मोबाइल एप’का प्रयोगकर्ता एक लाख नाघेका छन् । नेपाल प्रहरीका अनुसार ५५ हजार २२८ जना सर्वसाधारण र ५२ हजार ९७० जना प्रहरी कर्मचारी गरी एपका कुल प्रयोगकर्ताको संख्या एक लाख आठ हजार ९८ जना पुगेका हुन् । 

नेपाल प्रहरी मोबाइल एपमार्फत हालसम्म ९ हजार ३८४ वटा घटनाको जानकारी प्राप्त भएको प्रहरीले बताएको छ । २०७६ असोज २४ गतेबाट एप प्रयोगमा ल्याइएको हो । एपमार्फत सर्वसाधरणले आफू पीडित भएको अवस्थामा होस् वा कुनै घटनाको प्रत्यक्षदर्शीको रूपमा प्रहरीलाई स्थानसहितको सूचना प्रदान गर्न सक्छन् ।

“प्रहरीको कामकारबाहीलाई प्रविधिमैत्री सेवाको रूपमा संस्थागत विकास गर्ने उदेश्य अनुरुप पाइलट प्रोजेक्टको रूपमा एप सञ्चालन भएको हो,” नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महाननिरीक्षक भीमप्रसाद ढकालले भने, “हाल ७७ वटै जिल्लाहरूमा प्रहरी एपमार्फत आएका गुनासा र सूचनाका आधारमा नजिकैको प्रहरी कार्यालयबाट तुरून्त प्रहरी परिचालन गर्ने व्यवस्था गरिएको छ ।” 

जुनसुकै व्यक्तिले गुगल प्लेस्टोर र एप्पल स्टोरबाट उक्त मोबाइल एप डाउनलोड गरी सुविधा प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ । प्रहरी कर्मचारीहरूले यूजरनेम र पासवर्ड राखी लगइन गर्न सक्छन् भने सर्वसाधारणले नाम, थर, मोबाइल नम्बर, इमेल र ठेगाना सही रूपले भरेर रजिष्ट्रेसन गरी लगइन गर्न सक्छन् ।

“समुदायमा घट्ने आपराधिक क्रियाकलाप, विभिन्न घटनाहरू तथा सूचनाहरूलाई छिटो, छरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधीलाई तत्काल नियन्त्रणमा लिनुका साथै समग्र शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न एपले सहयोगी भूमिका निर्वाह गर्दै आएको छ,” प्रहरी प्रवक्ता ढकालले भने । 

एपबाट प्राप्त हुने सूचनाको आधारमा प्रहरीलाई पनि घटना स्थानमा छिटो छरितो पुग्न सहयोग मिलेको छ । एपद्वारा अडियो, फोटो र भिडियो जस्ता प्रमाणजन्य सूचना प्राप्त गरी अपराध अनुसन्धानमा सहजताका साथै प्रहरी कार्यलाई अझै चुस्त राख्न समेत मद्दत पुगेको भनाई प्रहरीको छ । 

मोबाइल एपको प्रयोग गरी आम नागरिकहरूले प्रहरीसँग सम्बन्धित सूचना जीपीएसमा आधारित रहेर फोटो, भिडियो, अडियो र टेक्सट सूचनासहित खबर गर्न सक्ने व्यवस्था गरिएको छ । 

प्रहरीको आन्तरिक प्रयोजनअन्तर्गत यस प्रणालीमा इन्ट्रानेट पोर्टल, पीएमआईएस प्रोफाइल, जियो–एटेन्डेन्स, प्रहरी क्लोन्डर, जीपीएस ट्रयाकर, पट्रोलिंग जस्ता सुविधाहरू समेटिएको छ । 

आम नागरिकका लागि पनि विभिन्न सुविधाहरू रहेका छन् । जसमध्ये ‘रिपोर्ट इन्सिडेन्ट’ बाट आम नागरिकले आकस्मिक रूपमा प्रहरीबाट सहयोग चाहिएमा रिपोर्ट गर्न सक्छन् । आपत्कालिन नम्बरबाट प्राप्त गर्न सक्छन् । ‘प्रहरी स्टेसन नियरबाई’ बाट नजिकका प्रहरी कार्यालयहरु र तिनको फोन नम्बर थाहा पाउन सकिन्छ । इ–कम्प्लेनबाट प्रहरीसँग सम्बिन्धत गुनासो र सेवाबारे उजुरी दिन सकिन्छ । ‘पब्लिक आई’ बाट तुरुन्तै रिपोर्ट गर्न सकिन्छ । 

यस्तै, ‘पोलिस क्लियरेन्स रिपोर्ट’ बाट प्रहरी चारित्रिक प्रमाणपत्र सम्बन्धी जानकारी लिन सकिन्छ । ‘प्यानिक मोड’ अन्तर्गत आकस्मिक रुपमा प्रहरीबाट सहयोग चाहिएको खण्डमा उक्त फिचर इनएवल गरे लगत्तै नेपाल प्रहरीले ड्यासवोर्डमा सो व्यक्तिको सम्पर्क नम्बर तथा स्थान सहितको सूचना प्राप्त भई सम्बन्धित स्थानमा प्रहरी परिचालन गर्न सघाउ पुर्‍याउँदछ । 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro