site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमास र यमनी हुथी विद्रोहीबीच गाजा युद्धबारे छलफल
फाइल तस्बिर ।

गाजा । हमास र यमनका हुथी विद्रोहीका शीर्षस्थ व्यक्तिहरूबीच इजरायलविरुद्ध आफ्ना गतिविधि सञ्चालन गर्न समन्वय गर्ने विषयमा छलफल गर्न दुर्लभ बैठक भएको प्यालेस्टाइनी स्रोतले शुक्रबार एएफपीसँग बताएका छन् ।

हमास र यमनी हुथी समूहले ‘गाजामा जारी इजरायलको कारबाहीकोे प्रतिरोध’ गरिरहेका छन् । इराननिकट यीजस्तै लेबनानको हिजबुल्लाह र केही इराकी लडाकु समूहको पनि इजरायल र संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण व्यवहार रहेको छ ।

गएको अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता हुथी विद्रोही समूहले गाजामा प्यालेस्टाइनीप्रति ऐक्यबद्धता जनाएको छ । उनीहरूले महिनौँदेखि रेड सीको बाटो भएर आवतजावत गर्ने पानीजहाजमा आक्रमण गर्दै आएका छन् ।

हमास र इस्लामिक जिहादनिकटस्थ स्रोतका अनुसार दुई प्यालेस्टानी इस्लामिक समूहका साथै प्यालेस्टानी माक्र्सिस्ट पपुलर फ्रन्टका नेताहरूले गएको हप्ता हुथी प्रतिनिधिसँग ‘महत्त्वपूर्ण बैठक’ गरेका थिए ।

हमासनिकट स्रोतले बैठक कहाँ भएको थियो भन्ने उल्लेख नगरी यी समूहले गाजा युद्धको ‘अर्को चरण’को प्रतिरोध गतिविधिका निम्ति समन्वय गर्ने संयन्त्रबारे छलफल गरेको बताएको छ ।

प्यालेस्टानी समूह र हुथी विद्रोहीले दक्षिणी गाजाको रफाहामा इजरायली स्थलआक्रमण हुन सक्नेबारे पनि छलफल गरेको नाम उल्लेख नगर्ने सर्तमा स्रोतले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार, गाजामा हमासको अन्तिम किल्ला रफाहा र आसपासका क्षेत्रमा करिब १५ लाख मानिसको भीड लागेको छ, जसमध्ये अधिकांश विस्थापित भएका छन् । उनीहरू इजिप्टको सीमानजिक कमजोर जीवनयापनको अवस्थामा छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले शुक्रबार रफाहामा सैन्य कारबाही गर्ने सेनाको योजनालाई स्वीकृति दिएको जनाएको छ ।

हमास र इस्लामिक जिहाद स्रोतका अनुसार, हुथी विद्रोहीले ‘प्यालेस्टाइनी प्रतिरोधलाई समर्थन गर्न’ रेड सीबाट आवतजावत गर्ने पानीजहाजमा आक्रमण जारी राख्ने बताएका छन् ।

यमनी विद्रोही हुथी समूहका नेता अब्दुल मलिक अल–हुथीले बिहीबार दक्षिण अफ्रिकाको केप अफ गुड होप पार गर्दै रेड सीबाट टाढा रहेका पानीजहाजलाई लक्षित गरी आक्रमण विस्तार गरिने बताएका छन् ।

अक्टोबर ७ मा हमासको अकल्पनीय आक्रमणबाट इजरायलमा करिब एक हजार १६० जनाको मृत्यु भएको थियो । प्यालेस्टाइनी लडाकुले करिब २५० इजरायली र विदेशीलाई कब्जामा लिएका थिए । जसमध्ये करिब १०० जना लाई नोभेम्बरमा एक हप्ता लामो युद्धविरामका क्रममा रिहा गरिएको थियो । इजरायलले गाजामा करिब १३० बन्दी रहेको र तीमध्ये ३२ जनाको मृत्यु भएको अनुमान गरेको छ ।

इजरायलले हमासविरुद्ध गरेको जवाफी कारबाहीमा गाजामा कम्तीमा ३१ हजार ४९० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro