site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्रीको आग्रह

काठमाण्डौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले नेपालमा सहायता बढाउन विश्व बैंकलाई आग्रह गरेका छन् ।

सोमबार अर्थ मन्त्रालयमा विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँगको भेटमा मन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न आग्रह गरे । विश्व बैंक नेपालको ठूलोमध्येको विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको उनको भनाइ थियो ।

सरकारको खर्च बढाउने, रोजगारी सिर्जना र अर्थतन्त्र चलायमान बनाउने सरकारको नीति सफल बनाउन महत्त्वपूर्ण विकास साझेदारका हैसियतले विश्व बैंकको सहयोग जरुरी रहेकामा उनले जोड दिए ।

“कतिपय आन्तरिक र कतिपय बाह्य कारणले अर्थतन्त्र केही दबाबमा छ,” अर्थमन्त्रीले भने, ‘यो चुनौतीपूर्ण अवस्थामा विश्व बैंकबाट थप सहयोगको अपेक्षा गरेको छु ।”

पुँजीगत खर्च बढाउने गरी काम गर्ने उनले बताए । विश्व बैंकको लगानीमा निर्माण गरिने भनिएको महत्त्वाकांक्षी माथिल्लो अरुण जलविद्युत् आयोजना, प्रदेश तथा स्थानीय सडक, डिजिटल नेपालसम्बन्धी आयोजनाको काम अगाडि बढाइने मन्त्री पुनले उल्लेख गरे ।

भेटमा डाइरेक्टर जेर्बोसले विश्व बैंकको लगानीमा सञ्चालित आयोजनाको प्रगति सन्तोषजनक बनाउन सरकारका तर्फबाट गर्नुपर्ने समन्वयका निम्ति अर्थमन्त्रीको ध्यानाकर्षण गराए । उनले विश्व बैंकले बनाउँदै गरेको नयाँ साझेदारी रणनीतिको खाकाबारे समेत मन्त्री पुनलाई अवगत गराए ।

उनले आउँदो जुनमा काठमाडौंमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) २१ सम्बन्धी बैठकको तयारीबारे मन्त्री पुनलाई जानकारी गराएका थिए । आईडीएले विकासोन्मुख मुलुकका निम्ति वित्तीय सहायता, सहुलियतपूर्ण ऋण र अनुदान प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro