site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
विश्वभर अम्बानीका छोराको बिहेको चर्चा : यी हुन् रोचक ६ तथ्य

काठमाडौं । विश्वका दशौँ तथा एसियाकै पहिलो नम्बरमा रहेका धनाढ्य मुकेश अम्बानीका छोराको बिहे आउँदो जुलाईमा हुने तय भएको छ । त्यसको करिब चार महिनाअघि दिइएको पार्टीले अहिले विश्वभर चर्चा पाइरहेको छ ।

२८ वर्षीय अनन्त अम्बानी र २९ वर्षीय राधिका मर्चेन्टको बिहेपूर्वको पार्टी मार्च एकदेखि तीनसम्म चल्यो । भारतको गुजरात राज्यको जामनगर सहर नजिकैको जोगबाड गाउँमा पार्टी आयोजना गरिएको थियो ।

६६ वर्षीय मुकेश अम्बानीको सम्पत्ति फोर्ब्सका अनुसार ११५ अर्ब अमेरिकी डलर छ । बिहे हुन लागेका अनन्त अम्बानी उनका कान्छा छोरा हुन् ।

राधिका मर्चेन्ट एन्कोर हेल्थकेयरका सीईओ वीरेन मर्चेन्टकी छोरी हुन् ।

Ambani-(4)-1709486375.jpg
 

५१ हजारलाई भोजन

गत साताको बुधबार अनन्त अम्बानी र उनकी हुनेवाली दुलही राधिका मर्चेन्टले ५१ हजार स्थानीय वासिन्दाका लागि जोगबाड गाउँमा भोजको आयोजना गरेका थिए ।

पारिवारिक अवसरहरूमा भोज खुवाउने अम्बानीहरूको पहिलेदेखिको नै चलन भएको भनिएको छ ।

रिहानाको लाइभ पर्फमेन्स, आठ वर्षमा पहिलो

विश्वकै चर्चीतमध्येकी बार्बाडियन गायिका रिहानाले शुक्रबार राति ‘प्रि–वेडिङ’ कार्यक्रममा हरियो र गुलाबी रङको स्थानीयपन झल्काउने पोसाकमा नाङ्गो खुट्टा स्टेजमा पर्फमेन्स गरिन् ।

उनले कार्यक्रममा १९ गीत गाएर सुनाइन् । “आज राति अनन्त र राधिकाको सम्मानमा म यहाँ छु । मलाई यहाँ बोलाउनुभएकोमा धन्यवाद । तपाईंहरूको मिलनलाई भागवान्‌को आर्शीवाद छ,” एकपटक उनीसँगै स्टेज उक्लिएका अनन्त र राधिकालाई रिहानाले भनिन् ।

रिहानाले यो 'सो' उत्कृष्ट भएको र आफूले आठ वर्षपछि पहिलोपटक यस्तो 'सो' गर्न पाएको बताइन् । 

Ambani-(3)-1709486375.jpg
 

उनलाई करिब ६० लाखदेखि ९० लाख अमेरिकी डलरकोबीचमा पैसा तिरेर बोलाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उसो त असाधारण पार्टी गर्नेमा अम्बानीको नाम नयाँ हैन । सन् २०१८ मा आफ्नी छोरी ईसा अम्बानी र आनन्द पिरामलको प्रि–वेडिङ समारोहमा अमेरिकी गायिका बियोन्सेलाई बोलाएका थिए ।

यस्तै, सन् २०१९ मा आकाश अम्बानी र श्लोका मेहताको प्रि–वेडिङ पार्टीमा रक ब्यान्ड कोल्डप्लेको फ्रन्ट म्यान, क्रिस मार्टिन र द चेन्समोकर्सलाई पर्फमेन्सका लागि बोलाइएको थियो ।

१२०० अतिथिलाई आमन्त्रण

अनन्त अम्बानीको प्रि–वेडिङ पार्टीमा विश्वका धनाढ्य एवं चर्चितलगायत १२०० अतिथिलाई बोलाइएको थियो ।

माइक्रोसफ्टका संस्थापक बिल गेट्स, फेसबुकका संस्थापक मार्क जुकरबर्ग दम्पती, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प पार्टीमा सहभागी भए ।

गुगलका सीईओ सुन्दर पिचाई, डिज्नीका सीईओ बब इगर लगायत प्रविधि क्षेत्रका लिडरलाई पनि पार्टीमा आमन्त्रित गरिएको थियो ।

Ambani-(2)-1709486375.jpg
 

रिलायन्स इन्डिस्ट्रिज र डिज्नीले गत साता मात्रै ८.५ अर्ब अमेरिकी डलरको मर्जर सम्झौता गरेको थियो ।

यस्तै, डा. सुल्तान अहमद अल जबर, आनन्द महिन्द्रा, खेलाडीहरुमा सचिन तेन्दुलकर, एमएस धोनी र ड्वेन ब्राभो र बलिउडका कलाकार शाहरुख खान, सलमान खान, रणवीर सिंह र दीपिका पादुकोणलगायत सेलीब्रेटी पार्टीमा आमन्त्रित थिए ।

ककटेल पार्टी र ‘लाइभ एनिमल फिचरिङ’

सुरुको दिन ककटेल पार्टी आयोजना गरिएको थियो । दोस्रो दिन रिलायन्स पशु उघार केन्द्रमा हिँडडुल गर्न लगिएको थियो । जनावरहरूलाई उद्धार गरेर राख्ने यो अनन्तकै योजना हो ।

तेस्रो दिन 'टस्कर ट्रेल्स' कार्यक्रम रहेको थियो । जहाँ पाहुनाहरूले दिउँसोको समयमा ‘रोचक प्राकृतिक’ अनुभव लिन सक्छन् । त्यसक्रममा उनीहरूले २०० भन्दा बढी हात्ती, ३०० भन्दा बढी सिंह, बाघ, चितुवा र १२० भन्दा बढी सरीसृप प्रजातीलाई देख्न पाउँछन् ।

अतिथि वा आगन्तुकलाई ९ पेजको ‘ड्रेस कोड’

पार्टीमा आएका पाहुनाको पहिरन एवं मेकअपलगायतका लागि ९ पेजको ‘ड्रेस कोड’ विवरण उपलब्ध गराइएको थियो ।

‘ड्रेस कोड’मा ‘जंगल फेभर’, पशु उद्धार केन्द्र भ्रमणमा जान ‘आरामदायी जुत्ता’ र मेलाका लागि भारतीय पोसाकलगायत समावेश थिए । यस्तै, अतिथिका लागि ‘हेयर स्टाइलिस्ट’ र ‘मेकअप आर्टिस्ट’समेत उपलब्ध थिए ।

पाहुनाहरूलाई एक सय सेफहरूले बनाएको ५०० भन्दा बढी परिकारहरू उपलब्ध थिए ।

Ambani-(1)-1709486375.jpg
 

१४ मन्दिर निमार्ण

केही दिनअघि रिलायन्स फाउन्डेसनले आफ्नो युट्युब च्यानलमा एक भिडियो राख्दै निर्माण गरिरहेका मन्दिरहरू देखाएको थियो । जामनगरमा रिलायन्स फाउन्डेसनले अनन्त अम्बानीको बिहेअघि १४ मन्दिर निमार्ण गरिरहेको छ ।

भिडियोमा रिलायन्स फाउन्डेसनकी संस्थापक एवं अध्यक्ष मुकेशपत्नी एवं तीन छोराछोरीकी आमा नीता अम्बानीले मन्दिरको निमार्ण एवं डिजाइनमा संलग्नहरूसँग कुरा गरिरहेको देख्न सकिन्छ ।

बिहेका लागि जामनगर नै किन रोजेको हो भन्ने प्रश्नमा अनन्तले आफू त्यहाँ नै जन्मे हुर्केको बताएका छन् । 

यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमै विवाह गर्नका लागि गरेको आग्रहबाट पनि आफू प्रेरित रहेको उनले बताएका छन् ।

मुकेश अम्बानीका तीन सन्तानमा जेठो छोरा आकाश अम्बानी अहिले रिलायन्स जियोको अध्यक्ष छन् ।

उनकी छोरी ईशा रिटेल हेर्छिन् । आउँदो जुलाईमा बिहे हुन लागेका अनन्त नयाँ ऊर्जा व्यवसायमा संलग्न भएका छन् ।

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro