site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उडानका क्रममा विमानको झ्याल फुटेपछि...

वासिङटन । अमेरिकाको ओरेगन राज्यमा १७७ यात्री बोकेको अलास्का एयरलाइन्सको विमानलाई शुक्रबार आपत्कालीन अवतरण गराइएको छ ।

‘फ्लाइट १२८२’ को विमान पोर्टल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयानुसार साँझ ५ः०० बजे उडेको थियो । विमानमा ‘चालक दलले चापको समस्या भएको रिपोर्ट गरेपछि’ सुरक्षित रूपमा फर्काइएको संघीय उड्ययन प्रशासनले एक्स (ट्विटरमा)मा उल्लेख गरेको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा विमानको झ्यालको सिसा फुटेको र छतमा इमर्जेन्सी अक्सिजन मास्क झुन्डिएको देखिएको छ ।

विमानमा सवार यात्री काइल रिंकरले सीएनएनलाई बताएअनुसार उडान भरेको केही बेरमै झ्याल फुटेको थियो । “यो वास्तवमा अचानक थियो । झ्याल भर्खरै बन्द भएको र विमान भर्खर उचाइमा पुगेको थियो । अक्सिजन मास्क बन्द नभएसम्म यसलाई महसुस गरिएन,” उनले सीएनएनसँग भने ।

अर्का यात्री भी गुयेनले न्युयोर्क टाइम्सलाई बताएअनुसार उडानका क्रममा आएकोे चर्को आवाजले उनलाई बिउँझाएको थियो । “मैले आँखा खोल्दा सबैभन्दा पहिले मेरो अगाडि अक्सिजन मास्क देखेँ,” गुयेनले न्युयोर्क टाइम्ससँग भने, “त्यसपछि मैले बायाँतिर हेर्दा विमानको झ्यालको सिसा थिएन ।” 

“जब मैले घटनालाई नजिकबाट देखेँ, पहिलो कुरा त मैले सोचेँ– म मृत्युको मुखमा जाँदै छु,” उनले थपे ।

राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एफएए) र अलास्का एयरलाइन्सले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।

“६ जना चालक दलका सदस्यसहित १७१ जना यात्री लिएर विमान पोर्टल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको छ,” एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“यसप्रकारको घटना विरलै हुने भए तापनि हाम्रो विमानका चालक दललाई तालिम दिइएको थियो र स्थितिलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न तयार पारिएको थियो,” विज्ञप्तिमा भनिएको छ ।

बोइङ ७३७ म्याक्स ९ विमानले क्यालिफोर्नियाको ओन्टारियोका लागि साँझ ५ः०७ बजे उडान भरेको थियो भने करिब २० मिनेटपछि विमानस्थलमा फर्किएको फ्लाइट ट्रयाकिङ वेबसाइट (फ्लाइटअवेयर)ले जनाएको छ ।

फ्लाइटअवेयरका अनुसार यसलाई अक्टोबरमा एयरवर्थी प्रमाणित गरिएको थियो ।

थप जानकारी संकलन भइरहेको र प्राविधिक टोली अनुसन्धानका निम्ति सहयोग गर्न तयार गरिएको बोइङले जनाएको छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro