site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चक्कु प्रहारबाट घाइते दक्षिण कोरियाली नेता लीको स्वास्थ्यमा क्रमिक सुधार : चिकित्सक

सियोल । घाँटीमा धारिलो हतियार प्रहार गरिँदा घाइते भएका दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे–म्युङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको तर जटिलताबाट बच्न कडा निगरानीको खाँचो रहेको सियोल नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकले बिहीबार बताएका छन् ।

लीलाई दक्षिणी बन्दरगाह सहर बुसानमा मंगलबार पत्रकारसँगको कुराकानीपछि गाडीतर्फ जाने क्रममा समर्थकका रूपमा आएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए । उनको घाँटीको बायाँ भागमा चक्कुको चोट लागेको थियो ।

टाउकोबाट शरीरमा रगत जाने नसामा चोट लागेका लीलाई तत्कालै स्थानीय अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नेता लीलाई पछि राजधानी सियोल लगी करिब दुई घण्टा लामो शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया गर्ने चिकित्सक मिन सेउङ–कीका अनुसार, लीको ‘भाग्यवश स्वास्थ्यमा सुधार’ आएको छ । लीको मांसपेशीमा १.४ सेन्टिमिटर छेडिएको घाउ देखिएको र घाँटीमा रगत जमेको भए पनि शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार देखिएको हो ।

चक्कुले ‘भित्री नसा (जुगुलर भेन) करिब ६० प्रतिशत भाग काटेको’ सर्जन चिकित्सकले बताएका छन् । “भाग्यवश धमनी, मस्तिष्क तन्त्रिका, घाँटी वा वायुमार्गमा क्षतिको कुनै संकेत थिएन । लीको स्वास्थ्य तत्काल खतरामुक्त भए पनि अझै चिकित्सकीय निगरानी आवश्यक छ,” मिनले भने, “किनकि, घाउमा संक्रमण भई उपचारमा जटिलता आउन सक्छ ।”

लीको शल्यक्रियापछि सियोल अस्पतालले बिहीबार पहिलोपटक स्वास्थ्य अवस्थाबारे दिएको जानकारीमा पार्टी नेतालाई बुधबार सघन उपचार कक्षबाट जनरल वार्डमा स्थानान्तरण गरिएको बताइएको छ ।

लीको डेमोर्क्याटिक पार्टीले आक्रमणकारीको चक्कु नसामा नभई धमनीमा लागेको भए उनको मृत्यु हुन सक्ने जनाएको छ ।

योनहाप समाचार संस्थाका अनुसार, बुसानको एक अदालतले हत्या प्रयासको अभियोगमा ६६ वर्षीय संदिग्ध व्यक्तिविरुद्ध अभियोजन पक्षले दायर गरेको पक्राउ पुर्जी बिहीबार पुनरवलोकन गर्ने भएको छ । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro