site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विमानस्थलको सेटिङबिना शरीरमा ल्याउन सकिन्छ १४ किलो सुन ? 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले गएराति १४ किलो सुनसहित दुईजनालाई पक्राउ गर्‍यो । 

बिहीबार राति फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका गोरखाका चन्द्र घलेले उक्त सुन ल्याएका थिए । विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार घलेले दुबईबाट सुन ल्याउँदै छन् भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । 

घलेलाई पक्राउ परेपछि उक्त सुनका मालिक मीनबहादुर घले रहेको बयानका आधारमा मीनबहादुरलाई समेत पक्राउ गरिएको हो । 

उनीहरूमाथि भन्सार कार्यालयले थप अनुसन्धान जारी राखेको विमानस्थल प्रहरीका एसपी पदम विष्टले बाह्रखरीलाई जानकारी दिए । 

भन्सार कार्यालयले सुनसहित पक्राउ परेका घलेको भिडियो  समेत सार्वजनिक गरेको छ । भिडियोमा घलेले सुन कपडामा बेरेर छातीको दायाँबायाँ राखेर ल्याएको देखिन्छ । त्योबाहेक जुत्ताभित्र समेत सुन लुकाएर ल्याएको देखिएको छ । उक्त सुन ल्याएका व्यक्तिमाथि भन्सार कार्यालयको स्क्यान मेसिनमा जाँच गर्दा उक्त सुन देखिएपछि बरामद गरेको देखिन्छ । 

भिडियोमा देखिएका घलेले कसरी त्यति ठूलो परिमाणको सुन शरीरमा लुकाएर ल्याए भन्ने प्रश्न उठेको छ । विमानस्थल प्रहरी स्रोतले समेत १४ किलो सुन त्यसरी ल्याउने प्रयास गर्नुलाई आश्चर्य मानेको छ ।  

स्रोतले भन्यो, “विमानस्थलबाट विभिन्न तरिकाले सुन तस्करी भइरहेको छ । यसलाई शून्यमा झार्न हामी लागिरहेका छौँ । तर आज १४ किलो सुन आफैँले बोकेर आउनु भनेको हाम्रो सुरक्षा प्रणालीलाइ सजिलै पार गर्छु भन्ने आँटले नै हो । अथवा अन्य केही कारण छ हामी नै आश्चर्यमा छौँ ।” 

प्रहरी स्रोत विमानस्थल भन्सारको सेटिङबिना यो सम्भव नै नभएको दाबी गर्छ । “भन्सारको सेटिङबिना सम्भव देखिँदैन,” प्रहरी स्रोतले भन्यो ।

नेपाल प्रहरीका पूर्वडीआईजी पूर्णचन्द्र जोशी समेत १४ किलो सुन त्यसरी बोकेर आउनु नै शंकास्पद भएको बताउँछन् । “तस्करले विभिन्न माध्यम प्रयोग गरेर सुन तस्करी गर्छन् । तर, हिजोको घटना अलि फरक छ । समयमा कसैको केही इन्ट्रेस्ट हुन पनि सक्छ । पक्राउ परेकाको ट्राभल डकुमेन्टबाट यो खुल्न सक्छ,” उनले भने ।   

विमानस्थल प्रहरी स्रोतका अनुसार उनी पछिल्लो समय १८ मंसिरमा मात्रै दुबई गएको खुलेको छ । 

उनी तीन दिन मै १४ किलो सुन ल्याएर फर्किंदा पक्राउ परेका हुन् । त्यो बाहेक उनी यसअघि समेत पटक–पटक दुबई काठमाडौं आउने जाने गरेको खुलेको छ । 

गएको भदौमा चिनिया तस्कर समूहले भने विभिन्न सवारी साधनको ब्रेक सु भित्र लुकाएर ६० किलो सुन तस्करी गरेको खुलेको थियो । 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १४ किलो सुन तस्करी प्रकरणबारे छानबिन गर्न प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । 

प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पत्रकार सम्मेलन गर्दै पौडेलको नेतृत्वमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना रहेको बताए । 

आजमात्रै उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले रसुवा नाका हुँदै काठमाडौं भित्रिएको दुई किलो सुन नागढुंगाबाट बरामद गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro