site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वृद्धा हत्याका तीन आरोपी कारागार चलान
सांकेतिक तस्बिर ।

गोरखा । ७० वर्षीया वृद्धाको हत्याका तीन आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

गोरखाको आरुघाट गाउँपालिका–१, श्यामचेतकी ७० वर्षीया वृद्धा सुनमाया लामाको हत्याका आरोपीलाई जिल्ला अदालतको आदेशमा बिहीबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

कारागार चलान हुनेमा सोही ठाउँका २९ वर्षका कर्माछिरिङ लामा, १९ वर्षका साने भनिने सुपराज लामा र १९ वर्षकै अन्जय लामा गुरुङ रहेका छन् ।

गत भदौ २८ गते साँझ घरमा एक्लै भएको मौका छोपेर कर्मा र सुपराज मिलेर सुनमायाको हत्या गरेका थिए । अन्जयले भने हत्यापछि उनीहरू भगाउन भूमिका निर्वाह गरेको पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

हत्या भएको दुई दिनपछि भदौ ३० गते बिहान एककोठे कच्ची घरमा शंकास्पद अवस्थामा झुण्डिएको सुनमायाको शव फेला परेकाले आशंकामा प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरूले गरगहना लुटपाट गर्ने उेद्दश्यले वृद्धाको हत्या गरेको खुलेको उनको भनाइ थियो ।

प्रहरी निरीक्षक शेखर खड्काको नेतृत्वको टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरूले भदौ २८ गते करिब साँझ ६ बजे सुनमायालाई घरमै घाँटीमा दुवैतिरबाट डोरीले कसेर हत्या गरेका थिए । घटना ढाकछोप गर्न घरभित्र कोठाको बलोमा मृतकको शव झुण्ड्याएको पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले उल्लेख गरे ।

हत्यापछि कर्मा र सुपराजले मृतकको कानमा रहेको सुनका रिङसमेत लुटेर भागेका थिए । घटनाको अनुसन्धानपछि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत तिनैजनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान कसुरमा मुद्दा दायर गरेको थियो । सोही क्रममा अदालतले घटनामा संलग्न सबैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश थियो । रासस

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro