site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राहुल महराको ‘फोन कनेक्सन’सँगै शंकास्पद भूमिका

काठमाडौं । विद्युतीय सिगरेट (भेप)मार्फत भएको नौ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराको भूमिका थप शंकास्पद देखिएको छ ।

१३ भदौमा पक्राउ परेका राहुलले आफ्नो नियमित बोक्ने मोबाइल फोन नै परिर्वतन गरेर नयाँ मोबाइल बोेकेर सीआईबी पुगेको खुलेको हो । पूरानो मोबाइलबाट प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मार्फत आफूविरुद्ध लाग्ने केही प्रमाण फेला पर्ने डरले उनले मोबाइल परिवर्तन गरेको प्रहरीको आशंका छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भेप प्रकरणका आरोपी चिनियाँ नागरिकसँगको फोन सम्पर्क तथा भन्सार कार्यालयमा रोकिएको भेप छुटाउन खेलेको शकास्पद भूमिकाको आरोपमा उनलाई नियन्त्रणमा लिएको थियो ।

भेपमार्फत भएको सुन तस्करीका आरोपी दाओजिन वाङसँग राहुल महाराकोे १९५ पटक सम्पर्क भएको देखिएको थियो । जसमा राहुलले १३१ र वाङले ३४ पटक फोन गरेका थिए ।

फोन सम्पर्कबाहेक भेप छुटाउन राहुल भन्सार कार्यालय आफैँ सातपटक पुगेकोसमेत सीआईबीको अनुसन्धानले देखाएको छ ।

अनुसन्धान खटिएका एक प्रहरी अधिकारीले भने, “राहुलको फोन सम्पर्क मात्रै होइन, अन्य कारणले सुन तस्करीमा उनको भूमिका थप शंकास्पद देखिँदै गएको छ । उनले आफूले बोक्ने पुरानो मोबाइल समेत परिवर्तन गरेका छन् । भन्सारमा आफैँसमेत पुगेका देखिन्छ ।”

ती अधिकारीका अनुसार चिनियाँ समूहको सुन गाल्ने बुढानीलकण्ठको केही गोदाममा समेत राहुल पुगेको देखिएको छ ।

वाङबाहेक राहुलको अर्का आरोपी चिनियाँ नागरिक असिमसँग पनि तीनपटक सम्पर्क भएको देखिएको थियो । भेप प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङ, असिम र लुई हान तीनैजना हाल फरार छन् ।

भेप प्रकरणमा जोडिएका वाङ र ६० किलो सुन तस्करी आरोपमा पक्राउ परेका तिब्बती मुलका बेल्जियम नागरिक दावा छिरिङको समेत सम्पर्क देखिएको छ । भन्सार कार्यालयले बरामद गरेको भेपको रसिद लुई हानले दावा छिरिङलाई पठाएको देखिएको छ ।

१० पुुस २०७९ मा चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट भेप ल्याएका थिए । ७३ वटा बट्टामा ल्याइएको ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको थियो । उक्त भेप त्रिभुवन विमानस्थलबाट जाँचका क्रममा भन्सार कार्यालयले रोकेको थियो ।

उक्त भेप विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित सुरक्षा गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेको समूहले चोरी गरी बिक्री गरेको थियो । सोही अभियोगमा हाल जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पूर्पक्षको लागि जेल चलान गरेको छ ।

चोरी प्रकरणमै जोडिएका दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा भने हाल फरार छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro