site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसले गर्‍यो युक्रेनमा क्षेप्यास्त्र आक्रमण : पाँचजनाको मृत्यु, दर्जनौँ घाइते
तस्बिर : एपी ।

चेर्निहिभ (युक्रेन) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोका शीर्ष सैन्य कमान्डरसँग भेटेको केही घण्टापछि शनिबार युक्रेनको उत्तरी सहर चेर्निहिभमा क्षेप्यास्त्र आक्रमण गरिएको छ । आक्रमणमा परी कम्तीमा पाँचजनाको मृत्यु हुनुका साथै दर्जनौँ मानिस घाइते भएका छन् ।

किभबाट करिब १५० किलोमिटर उत्तरमा बेलारुसतर्फ रहेको चेर्निहिभ रुसको आक्रमणको पहिलो महिनादेखि नै यस्ता घटनाबाट धेरै हदसम्म जोगिएको थियो ।

पुटिनले दक्षिणी रुसको रोस्तोभ–अन–डोनको दुर्लभ भ्रमणका क्रममा रुसी सेनाका शीर्ष जर्नेललाई भेटेपछि यो आक्रमण गरिएको हो । यो आक्रमण हुँदा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की स्वीडेनको भ्रमणका लागि त्यसतर्फ लागिसकेका थिए ।

चेर्निहिभ आक्रमणबारे पुष्टि गर्दै युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले टेलिग्राममा भनेका छन्, “पाँचजनाको मृत्यु भएको छ । कम्तीमा ११ बालबालिकासहित ३७ जना घाइते भएका छन् ।”

जेलेन्स्कीका अनुसार यो आक्रमण ‘सहरको मध्यभागमा’ एउटा चोकमा भएको थियो, जहाँ पोलिटेक्निक विश्वविद्यालय र एउटा नाट्यशाला छ ।

“एउटा सामान्य शनिबारलाई रुसले पीडा र क्षतिको दिनमा परिणत गरेको छ,” युक्रेनी नेताले स्वीडेन पुगेपछि भने ।

उनले घटनास्थलको एउटा भिडियो पोस्ट गरेका थिए । त्यसमा सोभियतकालीन एउटा ठूलो भवनको चारैतिर भग्नावशेष देखिएको छ । त्यसको वरिपरि रोकेर राखिएका कारहरूमा आंशिक रूपमा क्षति भएको छ ।

एएफपीका सञ्चारकर्मीले तारास शेभचेन्को नाट्यशाला संगीत एकेडेमीबाहिर दमकल देखेको बताएका छन् । आसपासका केही भवनमा पनि सामान्य क्षति पुगेको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro