site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मुग्लिन–पोखरा सडक विस्तार : दमौलीमा भत्काइँदै घर

दमौली । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो ।

मुख्य बजारभन्दा बाहेकका ठाउँमा यसअघि नै घरटहरा हटाइएको थियो । अब मुख्य बजारमा काम हुने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । उनले भने, “बजार क्षेत्रमा धुलो नउडोस् भन्नका लागि बजार क्षेत्रमा घरटहरा भत्काउन हतार नगरिएको हो । दमौली बजारको घरटहराको क्षतिपूर्ति, मुआब्जाको निर्धारण पनि हालै मात्र भयो । अब धमाधम काम अगाडि बढ्छ ।”

दमौली बजारमा केही असन्तुष्टि भएकाले सरोकारवालाको छलफलपछि त्यसलाई समाधान गरिने उनको भनाइ छ ।

यो खण्डमा ५०५ घरटहरा भत्काउनुपर्नेमा हालसम्म ३५० घरटहरा भत्काइएको छ । घरटहरा भत्काउनका लागि २६ करोड रुपैयाँ मुआब्जा निर्धारण गरिएको थियो । हालसम्म १७ करोड ५० लाख रुपैयाँ मुआब्जा वितरण गरिएको उनले जानकारी दिए ।

एउटा खण्डको प्रगति ३१ प्रतिशत 
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा ३१.५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ ।

यस्तै, जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा जम्मा आठ प्रतिशत प्रगति भएको छ । यो खण्डमा काम सुस्त छ ।

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रको काम सुरु भइसकेको छ । पूर्वी खण्डको कामका लागि वि.सं. २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।

यो खण्डको म्याद वि.सं. २०८१ वैशाखसम्म रहेको छ । सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि चालु आर्थिक वर्षमा पाँच अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

वि.सं. २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा बाटो चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म वि.सं. २०७८ जेठ २ गते सम्झौता भई ०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद ०८१ भदौसम्म रहेको छ ।

चार लेनको बनाइँदा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बनाइनेछ ।

डिजाइनानुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बनाइनेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । रासस

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro