site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विदेशी अपराधीको ठमेल ‘कनेक्सन’

काठमाडौं ।

घटना–१
करिब क्विन्टल सुन बरामद प्रकरणमा राजस्व अनुसन्धान विभागको टोलीले यही साउन १४ गते दावा छिरिङलाई पक्राउ गर्‍यो । चिनियाँ मूलका बेल्जियन नागरिक दावालाई विभागको टोलीले ठमेलस्थित होटेल भियनाबाट नियन्त्रणमा लिएको थियो ।

उनले नेपालको नागरिकता समेत लिएको खुलेको छ । दावाले काभ्रेबाट नागरिकता लिएको खुलेको हो । त्यसो त उनी प्रहरीको प्रक्राउ सूचीका आरोपित हुन् । नेपाली र भारतीय नागरिकलाई ‘अनलाइन लोन एप’मार्फत ठगी गर्ने गरेको उनीमाथि आरोप छ ।

साउन ४ गते विभागको टोलीले सो सुनका मालिक भनिएका लिङ चिवाङलाई समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनी समेत लामो समयदेखि ठमेलमा बस्दै आएका थिए ।

चिवाङलाई ठमेलमा दावाले नै ‘सेल्टर’ दिएर राखेको खुलेको थियो । त्यसपछि विभागको टोलीले दावालाई पक्राउ गरेको हो । सुन तस्करी प्रकरणको अनुसन्धान हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको छ ।

घटना–२
०७९ मंसिर १८ गते काठमाडौंको इन्द्रचोकमा हिँडिरहेका दुई चिनियाँ नागरिकमाथि अन्धाधुन्ध चक्कु प्रहार भयो । चक्कु प्रहारबाट घाइते भएका दुवैजनालाई प्रहरीले उपचारका लागि ट्रमा सेन्टरमा पुर्‍याएको थियो ।

घाइतेमध्ये २९ वर्षीय गान साउजिङको उपचारका क्रममा मृत्यु भयो । ती चिनियाँ नागरिकमाथि चक्कु प्रहार गर्ने आरोपित समेत चिनियाँ नै थिए ।

प्रहरीले गान र लि चिआङमाथि चक्कु प्रहार गर्ने ३७ वर्षीय फेङजेङलाई पक्राउ गरेको थियो । हत्या अभियोगमा फेङजेङ हाल पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागारमा छन् ।

गान र आरोपित फेङजेङ परिचित साथीहरू नै रहेको र दुस्मनीका कारण चक्कु प्रहार गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको थियो । उनीहरू लामो समयदेखि ठमेलमा घर भाडामा लिएर बस्दै आएका थिए ।

घटना–३
०७९ फागुन १९ गते प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोको टोलीले एक विदेशी महिलालाई पक्राउ गर्‍यो । पक्राउ पर्ने महिला युगान्डाकी नतासा भनिने इमालुकेट नाबासुम्बा थिइन् ।

उनले युगान्डाकै एक महिलालाई नेपालमा क्लिनरमा काम गर्दा मासिक ५०० अमेरिकी डलर कमाइ हुने प्रलोभनमा पारेर काठमाडौं बोलाएकी थिइन् । नतासा लामो समय ठमेलस्थित जर्नी होममा बसेकी थिइन् । नेपाल आएपछि उनले ती महिलालाई क्लिनरको साटो यौन व्यवसायमा लगाएको खुलेको थियो ।

राति ठमेलका विभिन्न क्लब पुग्ने नतासाले त्यहीँबाट यौनग्राहक खोज्ने र पीडित महिलासँग जबरजस्ती यौनसम्पर्क गर्न लगाउने गरेको खुलेको थियो । ती महिला युगान्डा फर्कन खोज्दा नतासाले उनको टिकट समेत रद्द गरिदिएकी थिइन् ।

पीडित महिला पछि प्रहरीको सम्पर्कमा पुगिन् । प्रहरीले नतासालाई ठमेलबाट पक्राउ गरेको थियो । हाल उनी पुर्पक्षका लागि जेल चलान भएकी छन् ।

०००

पर्यटकीय क्षेत्र ठमेललाई पछिल्लो समय विभिन्न देशका नागरिकले अपराध गर्न प्रयोग गर्ने ठाउँ (हब)का रूपमा लिन थालेका यी घटनाले देखाउँछ । रात्रिकालिन व्यवसाय र पर्यटकीय क्षेत्र भएका कारण यहाँ मानिसको बाक्लो उपस्थिति हुने गरेको छ । विभिन्न अपराधका घटना समेत हुने गरेको प्रहरीको भनाइ छ ।

ठमेलका अधिकांश घरहरू पूरै भाडामा लगाइने गरिन्छ । कतिपय अवस्थामा घरधनीलाई समेत भाडामा बस्नेहरूको गतिविधिबारे कुनै जानकारी हुँदैन । आपराधिक मानसिकता भएका समूहले घर नै भाडामा लिएर अवैध काम गर्ने गरेको ठमेलका केही व्यवसायीको भनाइ छ ।

ठमेल पर्यटकीय क्षेत्र भएकाले मानिसको उपस्थिति बाक्लो हुने र आपराधिक घटना पनि हुने गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनाली बताउँछन् ।

एसएसपी मैनाली भन्छन्, “ठमेल पर्यटकीय क्षेत्र हो । त्यहाँ आन्तरिकभन्दा विदेशीहरूको संख्या बढी हुन्छ । त्यसैले केही आपराधिक मनोवृत्ति भएका पर्यटकहरूबाट आपराधिक घटना हुने गरेको हो ।”

पछिल्लो समय ठमेलमा आपराधिक गतिविधि गर्ने व्यक्तिहरूमाथि प्रहरीले सीसीटीभीको माध्यमबाट निगरानी बढाएको उनले बताए ।

उपत्यकाका जेलमा करिब ३०० विदेशी कैदी
उपत्यकाका विभिन्न ठाउँमा आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका २८३ विदेशी नागरिक हाल जेलमा छन् । तीमध्ये केही व्यक्ति अदालतबाट कैद सजाय तोकिएका छन् । केही विदेशी पुर्पक्षका लागि जेल चलान गरिएका हुन् ।

कारागार व्यवस्था विभागको तथ्यांकानुसार सुन्धारास्थित केन्द्रीय कारागारमा सबैभन्दा बढी १८७ विदेशी कैदी छन् । ललितपुरस्थित नख्खु कारागारमा ७१ विदेशी कैदी छन् ।

डिल्लीबजारस्थित सदरखोरमा समेत २५ विदेशी कैदी राखिएको छ । देशभरका कारागारमा ८५० विदेशी कैदी रहेका सो विभागले जनाएको छ ।

विदेशी कैदीहरूले समेत नेपालीसरह दैनिक ८० रुपैयाँ नगद र ७०० ग्राम चामल पाउने गरेका विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro