site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरोले बगायो पदमार्ग
प्रतीकात्मक तस्बिर ।

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधारशिविर, चक्रीय पदमार्ग र सिम्कोश–बगर गाउँ जोड्ने पदमार्ग पहिरोले बगाएको छ ।

नाउराको भीरमा पर्ने उजलामा बुधबार दिउँसो खसेको पहिरोले करिब ५० मिटर पैदलमार्ग बगाएपछि सिम्कोश बगर, धौलागिरि आधारशिविर र चक्रीय पदमार्गमा आवतजावत बन्द भएको छ । सडक सुविधा नपुगेको सिम्कोश–बगर म्याग्दीको भौगोलिक रूपमा विकट र दुर्गम बस्ती हो ।

बगरका बासिन्दा समेत रहेका वडा सदस्य हरिप्रसाद तिलिजाले पहिरोले पैदलमार्ग बगाएपछि बगर गाउँमा आवतजावत बन्द भएको जानकारी दिए । “बगर र सिम्कोश गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ,” उनले भने, “बगर हुँदै धौलागिरि आधारशिविर, हिमाल आरोहण र चक्रीय धौलागिरि पदमार्गमा जाने पर्यटकका साथै सिम्कोश–बगर गाउँमा आवतजावत बन्द भएको छ ।”

पदमार्ग बगाएपछि मानिस बगर गाउँमा पुग्न र गाउँबाट बाहिर जान सकेका छैनन् । गाउँबाहिरको विद्यालय र क्याम्पसमा पढ्ने विद्यार्थी समस्यामा परेका छन् । बिरामीलाई अस्पताल पुग्न महँगो खर्च गरेर हेलिकोप्टर चार्टर्ड गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बगर पुग्ने वैकल्पिक पदमार्ग पहिचान र मर्मत गरी आवतजावत सहज बनाउन पहल गरिने बताए । घोडेटो बाटो बन्नुअघिको पुरानो गोरेटो बाटो मर्मत गर्न प्राविधिक टोलीलाई अध्ययनमा पठाउने उनले बताए ।

धौलागिरि चक्रीय पदमार्गमा पर्ने नाउराको भीरमा द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले सुरु गरेको पदमार्ग निर्माणको कामलाई वि.सं. २०६३ मा नेपाली सेनाले पूर्णताः दिएको थियो । पदमार्ग बनाइएपछि बगर हुँदै धौलागिरि हिमालको आधारशिविरसम्म खच्चर पुग्न थालेका थिए । रासस

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro