site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता

झापा । झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदानप्रदानसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादव र राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा. सुधीरकुमार रावलले शनिबार आयोजित कार्यक्रममा हस्ताक्षर गरे ।

नेपालमा क्यान्सर रोगको उपचारलाई अझै भरपर्दो र सुविधायुक्त बनाउन दक्षिण एसियाका दुई अत्याधुनिक अस्पतालबीच चिकित्सा विज्ञानका विविध विषयमा सहयोगको आदानप्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. यादवले बताए ।

क्यान्सर उपचारको क्षेत्रमा भइरहेका नयाँ अनुसन्धान, नवीनतम प्रविधि, टेलिमेडिसिन र उपचारमा सहुलियत आदानप्रदान गरिने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार राजीव गान्धी क्यान्सर अस्पतालले पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउनेछ भने रोबोटिक सर्जरीका विषयमा नेपाली चिकित्सकलाई प्रशिक्षित गराउने भएको छ ।

राजीव गान्धी क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. रावलले आफ्नो अस्पतालमा क्यान्सरको उपचारका लागि आउने नेपालीको संख्या १५ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिए ।

“क्यान्सरको भरपर्दो उपचारका लागि भारतमा आउनुपर्ने पहिले–पहिले बाध्यता थियो,” उनले भने, “अब त पूर्वाञ्चल क्यान्सर अस्पतालमै अत्याधुनिक उपचार पद्धति र उपकरणको सहायताबाट उपचार हुन थालिसकेको हुँदा बिरामीले नेपालमै राम्रो उपचार पाउने सम्भावना छ । हामी तपाईंहरूका लागि प्रविधि, अनुसन्धान र जनशक्ति प्रशिक्षणका लागि सहयोग गर्न तयार छौँ ।”

उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा रोबोटिक सर्जरी र टेलिमेडिसन सेवा सञ्चालन गर्न राजीव गान्धी अस्पतालले सहयोग गर्ने र उक्त अस्पतालको सिफारिसमा थप उपचार आवश्यक परेका बिरामीलाई सहुलियत प्रदान गरिने जानकारी दिए ।

सम्झौता आदानप्रदान कार्यक्रममा बीएन्डसी हस्पिटलका डाइरेक्टर प्रा. डा. उमेश शर्माले नेपालले चिकित्सा क्षेत्रमा फड्को मारिरहेको चर्चा गरे । उनले राजीव गान्धी क्यान्सर अस्पतालसँगको सहकार्य र सम्बन्ध विस्तारबाट क्यान्सरको उपचारका लागि नेपाली बिरामीले ठूलो लाभ पाउने विश्वास गरिएको बताए ।

झापाको बिर्तामोडमा सन् २०२० मा स्थापना भएको पूर्वाञ्चल क्यान्सर अस्पतालमा दैनिक २०० बिरामीले स्वास्थ्योपचार सेवा लिइरहेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए । रासस

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro