site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गण्डकीमा दोहोरी साँझ जाने ग्राहकले सरकारलाई २५ रुपैयाँ कर बुझाउनुपर्ने

पोखरा । मनोरञ्जनको क्षेत्रको रूपमा चिनिएको दोहोरी साँझ जाने ग्राहकबाट गण्डकी सरकारले २५ रुपैयाँ कर लिने भएको छ । यो कर आगामी आर्थिक वर्ष २०८०/०८१ अर्थात् साउन १ गतेबाट लागु हुने छ ।

रात्रीकालीन मनोरञ्जनको क्षेत्र दोहोरी साँझ जाने ग्राहकबाट प्रदेश सरकारले पहिलोपटक कर उठाउन थालेको हो ।

गण्डकी सरकारले प्रदेश सभामा पेस गरेको आर्थिक विधेयक २०८० अनुसार मनोरञ्जन कर शीर्षकमा ग्राहकबाट सरकारले उक्त रकम लिने छ ।

दोहोरी साँझ मात्र नभई भिडियो घर जानेदेखि कन्सर्टमा सहभागी हुनेहरूले पनि २५ रुपैयाँ कर सरकारलाई अनिवार्य बुझाउनुपर्ने हुन्छ ।

डान्सबार तथा नाइटक्लब छिर्ने ग्राहकले पनि २५ रुपैयाँ कर सरकारलाई तिर्नुपर्ने छ । चलचित्र प्रदर्शन गर्दा टिकट मूल्यको ५ प्रतिशत रकम पनि सरकारले लिने भएको छ ।

मनोरञ्जन करकै शीर्षक अनुसार क्यासिनो छिर्ने हरेक व्यक्तिले सरकारलाई एक सय रुपैयाँ बुझाउनुपर्ने छ । सांस्कृतिक प्रदर्शन हल, थिएटर/नाटकघर, फनपार्क, वाटर गार्डेन, बालउद्यानदेखि फुटसल, जुम्बा, मसाज, स्पा, जिपलाइन, बन्जिजम्प, स्विमिङपुल र पार्क प्रवेश गर्ने व्यक्तिले तिर्ने टिकटको मूल्यको ५ प्रतिशत रकम पनि सरकारले करबापत लिने छ ।

सर्कस, खेलमेला, जादु, चटके र विभिन्न प्रदर्शनीमा बिक्री हुने टिकटको ५ प्रतिशत रकम सरकारले कर लिने छ ।

टिकट व्यवस्था नभएको हकमा भने सरकारले १ दिनसम्म चल्ने सर्कस, खेल, मेला, महोत्सव, जादु, चटकेबाट दुई हजार, तीन दिनको पाँच, पाँच दिनको आठ, सात दिनको १२, आठदेखि १५ दिनको २० र १६ देखि ३० दिनसम्मको ३० हजार रुपैयाँ कर लिने छ ।

मनोरञ्जन कर भनेर नै सरकारले टेलिभिजन, केवल नेटवर्कदेखि डिसहोम टीभीबाट पनि एक प्रतिशत शुल्क लिने भएको छ । टेलिभिजन र केवल नेटवर्कले एक प्रतिशत तथा डिसहोम टीभीले रिचार्जको एक प्रतिशत शुल्क सरकारलाई बुझाउनुपर्ने हुन्छ ।

आर्थिक विधेयकको दफा ४ उपदफा २ अनुसार यसरी संकलित मनोरञ्जन करको प्रशासन र बाँडफाँट भने गाउँपालिका वा नगरपालिकाले गर्नेछन् । आवश्यक कानुन प्रदेशले बनाउने छ ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  २२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro