site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सडक मर्मत हुँदै गरेको स्थानबाट खसेको थियो सीटीईभीटीको गाडी

काठमाडौं । सिन्धुलीमा भएको सवारी दुर्घटनामा परी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का तीन कर्मचारीले ज्यान गुमाए । ती कर्मचारी सवार गाडी यही जेठ १९ गते सुनकोसी नदीमा खसेको थियो ।

नदीमा खसेर गाडीसहित बेपत्ता भएका उनीहरूमध्ये दुईजनाको शव गएको मंगलबार र एक शव शुक्रबार (हिजो) फेलापरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी एवं डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

सीटीईभीटीको प्रशासन शाखाका निर्देशक एवं सहसचिव तनहुँको भानु नगरपालिका–९ का कृष्णबहादुर केसी, सीटीईभीटीकै योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका यमप्रसाद भुर्तेल र सीटीईभीटीमै विद्युत् प्रशिक्षकका रूपमा कार्यरत इलामका भानु पौडेलको मृत्यु भएको हो । केसी र पौडेलको शव मंगलबार फेलापरेको थियो । भुर्तेलको शव शुक्रबार भेटियो ।

दुर्घटनामा परेको उक्त गाडीका चालक दाङको राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी भने सकुशल छन् ।

डीएसपी दाहालका अनुसार गाडी खसेको स्थान आसपास सडक मर्मत कार्य हुँदै थियो । बाटोमा गिट्टी राखिएको थियो । अलकत्रा पनि हालिएको थियो ।

“त्यो ठाउँमा बाटो बनाउने क्रममा थियो । गिट्टी हालेर अलकत्रा पनि हालेको थियो,” उनले बाह्रखरीसित भने, “पिच नबनेको बाटो थियो ।” चालकको भनाइअनुसार सोही कारण ‘चिप्लिएर’ गाडी खसेको जस्तो देखिएको उनले बताए ।

चालक चौधरीले ‘ब्रेकफेल’पछि गाडी अनियन्त्रित भएर दुर्घटना भएको बताएको डीएसपी दाहालले जानकारी दिए ।

“ब्रेकफेल भयो, ब्रेकफेल भएपछि गाडी दाहिने भित्तामा ठोक्कियो, त्यसपछि अनियन्त्रित भएर भीरबाट नदीमा खस्यो भनेका छन्,” चालक चौधरीको भनाइ उद्धृत गर्दै उनले भने, “मचाहिँ पौडिएर निक्लिएँ भन्छन् ।”

दुर्घटनाको यकिन कारण भने खुल्न बाँकी रहेको उनले बताए । त्यसतर्फ विस्तृतमा अनुसन्धान हुनै बाँकी रहेको उनले जानकारी दिए ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, लौकुन नभघाटस्थित सडकबाट गाडी करिब १५० मिटर तल सुनकोसी नदीमा खसेको थियो । भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीबाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कोर्पियो जीप दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  २२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro